चितवन/भरतपुरको चितवन मिड टाउन रिसार्टले सदस्यता अफर सर्वजनिक गरेको छ। सदस्य बन्नेहरुलाई रिसोर्टले विभिन्न सेवा निशुल्क तथा छुटको व्यवस्था गरेको छ।
रिसोर्टका महाप्रबन्धक बोधराज लम्सालले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा सदस्यता योजना सार्वजनिक गरिएको जानकारी दिए। यो योजनाअन्तर्गत तीन महिना भित्रमा तीन सय जनालाई सदस्य बनाउन लागेको लम्सालले बताए। दस हजार रुपैयाँ शुल्क बुझाएर सदस्य बन्नेले रिसोर्टमा ५८ हजार ८ सय देखि डेढ लाख रुपैयाँसम्मको निशुल्क तथा छुटको सुविधा प्राप्त गर्ने उनले बताए।
सदस्य बन्नेले जोडीका लागि दुई रात डिलक्स कोठा, १४ दिन स्विमिङ पुलको सेवा, चार वटा ब्रेकफास्टलगायतका निशुल्क सेवा पाउनेछन्। सदस्यले पाँच सय, एक हजार र दुई हजार रुपैयाँका क्यास भौचरहरु पनि प्राप्त गर्नेछन्। लञ्च, डिनर, ब्रेकफास्टलगायतका लागि ती भौचारको प्रयोग गर्न सकिने लम्सालले बताए। निशुल्क र क्यास भौचरको सुविधा सकिएपछि सदस्यहरुका लागि रिसोर्टका सेवाहरुमा ५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। ‘कोठा र लञ्चमा २० प्रतिशत, बेङ्क्वेटमा ५ प्रतिशत छुट हुनेछ। अन्य सेवामा पनि छुटको व्यवस्था गरिएको छ,’ लम्सालले भने, ‘यसका अलावा एक परिकार खाँदा थप एक परिकार निशुल्कको व्यवस्था हुनेगरी पनि सदस्यहरुले भौचरकार्ड प्राप्त गर्नुहुनेछ।’ सदस्यता व्यक्ति वा संस्था जसले पनि प्राप्त गर्न सक्ने उनले बताए।
प्रबन्ध निर्देशक मदन घिमिरेले रिसोर्टले सदस्यता नै खुलाएर सेवा दिन लागेको नेपालमै पहिलो पटक भएको दाबी गरे। ‘युरोपियन देशहरुमा यस्तो गरिन्छ, नेपालमा भने हामीले पहिलो पटक सदस्यता वितरण गर्न लागेका छौं,’ घिमिरेले भने, ‘यसले ग्राहक र रिसोर्ट बीचको आत्मियता थप प्रगाड बनाउने छ।’ उनले सबै क्षेत्रलाई समेट्नेगरी सदस्यता वितरण गरिने बताए। घोषणा गरेकै दिन १५ जनाले सदस्यता बुक गरेको उनले बताए।
भरतपुरको हाकिम चोकमा गत पुसबाट सञ्चालनमा आएको चितवन मिडटाउन रिसार्टमा ४२ वटा कोठा छन्। यहाँ जिल्लाकै सबैभन्दा ठूलो सभा हल छ। २० जनादेखि २ हजार जनासम्म अट्ने हलहरु, ५ वटा कार्यक्रम एकैपटकमा गर्नसक्ने क्षेत्र, एक सय जना अट्ने रेष्टुरेन्ट, ५०० जनासम्म सहभागी हुनसक्ने पुल गार्डेन, चौबिसै घण्टा खुल्ने कफि सप, २०० वटा कार अट्र्ने पार्किङ रहेको प्रबन्ध निर्देशक घिमिरेले बताए।
२२ कट्ठा क्षेत्रफल ओगटेको यो रिसोर्टमा ६० जना शेयर सदस्यको ३० करोड रुपैयाँ लगानी छ। घिमिरेले सौराहा र मेघौलीमा पनि चेनकारुपमा छिट्टै जंगल रिसोर्टहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।