चितवन, असोज १३
जिल्ला प्रहरी कार्यालय चितवनको परिशरमा बनेको सिनियर प्रहरी अधिकृत आवास गृहको उद्घाटन गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी किरण बज्रचार्यले उक्त भवनको उद्घाटन गरिन्।
१ करोड ७ लाख २१ हजार ९४७ रुपैयाँ लागतमा आवास गृह निर्माण भएको हो। १ करोड ४९ लाख ७ हजार ३२४ रुपैयाँ बजेट भएपनि निर्माण कम्पनी बालाजी निर्माण सेवाको सस्तो दरको प्रस्ताव स्वीकृत भएको थियो। कोरोना महामारी र मूल्यबृद्धिको कारण देखाएर निर्माण कम्पनीले तोकिएको भन्दा २२ महिना पछिमात्रै निर्माणकार्य सम्पन्न गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक ईन्जिनियर ईश्वर थापाले बताए। उनले निर्माण सम्पन्न हुँदा मूल्य अभिवृद्धि करसहित १ करोड ३२ लाख ८७८ रुपैयाँ खर्च भएको बताए।
यो भवनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षकहरु बस्नेछन्। मुख्य कार्यालय नै पुरानो र जिर्ण अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालयमा प्रहरीहरुका लागि आवासको राम्रो व्यवस्था थिएन। ३ विघा ८ कट्ठा जमिनमा रहेको प्रहरी कार्यालयमा आगामि वर्ष पनि नयाँ संरचनाहरु निर्माण गर्ने योजना बनिरहेको थापाले बताए।
भवन उद्घाटन गर्दै डिआइजी बज्रचार्यले चितवन सुरक्षाका दृष्टिले देशकै संबेदनशील र चुनौतीपूर्ण जिल्ला भएकाले यहाँका प्रहरीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताइन्। उनले सिनियर प्रहरीका लागि आवास गृह बनेसँगै अन्य भौतिक संरचनाहरु पनि निर्माणको प्रयास भइरहेको बताइन्।
चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले चितवन सुरक्षाका दृष्टिले संबेदनशील जिल्ला भएपनि त्यही अनुसार स्रोत साधन नभएको बताए। उनले भौतिक पूर्वाधारको स्तरोन्नती गर्दै प्रहरीलाई स्रोत साधनले सम्पन्न बनाउनु आवश्यक रहेको बताए।