नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने छ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेले दशैँअगावै संघ र प्रदेशतर्फ प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने गरी गृहकार्य गरिरहेको छ । सत्तारूढ गठबन्धनको क्षेत्र बाँडफाँट र त्यसबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई समेत मध्यनजर गरेर उम्मेदवार टुंगो लगाउने रणनीतिमा एमाले छ ।
गठबन्धनभित्रको असन्तुष्टितिर नजर लगाउँदै एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राप्रपासँगको तालमेलको अन्तिम टुंगो लगाइसकेको छैन । अध्यक्ष केपी ओलीले निकटस्थ नेताहरूसँग समेत परामर्श गरेर प्रतिनिधि सभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुंग्याइसकेका छन् ।
६० निर्वाचन क्षेत्रमा जिल्ला र प्रदेशबाटै सर्वसम्मत टुंगिएर उम्मेदवारको नाम आएको र थप ५० हाराहारीमा दुईजनाको मात्र दाबी रहेकाले संघतर्फको उम्मेदवार टुंगो लगाउन गठबन्धनको तुलनामा एमालेलाई सहज देखिएको छ । एमालेले चुनावी घोषणापत्र पनि टुंग्याउने तयारी गरेको छ ।