भरतपुर महानगरको मेयरमा दोस्रो कार्यकालको लागि पाँच दलीय गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेनु दाहाल निर्वाचित हुनुभएको छ । दाहाल ५२ हजार ३० मत ल्यायर निर्वाचित हुनुभएको हो ।
उहाँको निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको छ । मेयरमा दाहाल १२ हजार ४ सय ४९ मतान्तर सहित विजय हुनुभएको हो । यस्तै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याउनुभएको छ ।
यस्तै महानगरको उपमेयरमा गठबन्धनकै साझा उम्मेदवार नेपाली काङग्रेसका उम्मेदवार चित्रसेन अधिकारी भारी मतका साथ विजयी हुनुभएको छ । उहाँ आफ्नो प्रतिस्पर्धि राप्रपाको उम्मेदवार हिमला गुरुङसँग २२ हजार १ सय ९१ मतान्तरले विजयी हुनुभएको हो ।
उपमेयरमा अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गुरुङले ३० हजार ६ सय १२ मत ल्याउनु भएको छ ।
यसअघि २०७४ मा भएको स्थानिय निर्वाचनमा पनि काङग्रेस माओवादीको गठबन्धनले भरतपुरमा मेयर उपमेयर जितेको थियो । यसपटक पनि काङग्रेस माओवादी सहितको पाँच दलीय गठबन्धनले भरतपुरको मेयर उपमेयरमा वाजी मारेको छ ।
मेयर दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो भने उपमेयर अधिकारी पहिलोपटक निर्वाचित हुनुभएको हो । यसअधि भरतपुरको उपमेयरमा काङग्रेसबाट पार्वती शाह ठकुरी निर्वाचित हुनुभएको थियो ।