भरतपुर महानगरको मेयरमा फराकिलो मतान्तर बनाउन रेनु दाहाललाई स्वतन्त्र उम्मेदवार भुईकटर चुनाव चिन्ह पाएका जगन्नाथ पौडेलको उम्मेदवारीले सहज भएको पाइएको छ । कांग्रेसबाट बागी उम्मेदवार रहेका पौडेलको उम्मेदवारीले असन्तुष्ट कांग्रेसीको मत एमालेका विजय सुवेदीको पक्षमा जानबाट जोगिएको विश्लेषण भएको छ ।
मेयर कांग्रेसले पाउनैपर्ने अडानमा रहेका भरतपुरका कांग्रेसीहरुले सत्तागठबन्धनले मेयरमा माओवादी केन्द्रकी रेनु दहाललाई साझा उम्मेदवार बनाएपछि आक्रोशित बनेका थिए । तर, आक्रोशी बनेका कांग्रेसीहरुको मत विपक्षी उम्मेदवार सुवेदीले पाएको भए रेनुलाई जित्न कठिन हुने देखिन्थ्यो । तर आज (आइतबार) विहान ८ बजेसम्मको मतगणना विश्लेषण गर्न रेनुलाई फराकिलो मतान्तर बनाउन पौडेलको उम्मेदवारी सहयोगी बनेको देखिन्छ । पौडेललाई उम्मेदवारी फिर्ता गराएर रेनुलाई सघाउन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँड, विनाविभागिय मन्त्री उमेश श्रेष्ठ लगायतको प्रयास असफल बनेको थियो ।
रेनुलाई कांग्रेसीकै मत कटौती हुदा जित्न कठिन हुने विश्लेषण भएका थिए । तर, मतगणनाका क्रममा एमालेको भोट समेत रेनुले ल्याएको पाइएको छ । हालसम्म गणना भएको मतमा जगन्नाथले करिब १३ प्रतिशत मत ल्याउनुभएको छ । रेनुको पक्षमा करिब ३९ प्रतिशत, विजय सुवेदीले करिब ३१ प्रतिशत मत ल्याउनुभएको छ । भरतपुरमा कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतका ५ दलको समर्थन रेनु दाहाललाई छ । एमाले, राप्रपाको समर्थन सुवेदीलाई छ । राप्रपाको बलियो संगठन नहुदा सुवेदीलाई रेनुसँगको मतान्तर घटाउन चूनौति देखिएको छ । एमाले प्रभाव मानिएका क्षेत्रमा समेत रेनुलाई भोट क्रस भएपछि एमालेलाई मतान्तर घटाउन अप्ठ्यारो परेको देखिन्छ ।
पछिल्लो मतगणनाको विवरण अनुसार रेनुले ७ हजार ४ सय १५ मतान्तरले सुवेदीलाई पछाडी पार्नुभएको छ । रेनुले ३५ हजार ९८ मत ल्इाउँदा सुवेदीले २७ हजार ६ सय ८३ मत ल्याउनुभएको छ । स्वतन्त्र उम्मेदवार पौडेलले ११ हजार ८ सय ३५ मत ल्याउनुभएको छ । उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार फराकिलो मतान्तरले अगाडी छन् । कांग्रेसका चित्रसेन अधिकारी १५ हजार ४ सय २६ मतले अगाडी हुनुहुन्छ । चित्रसेनले ३७ हजार ३ सय २६ मत ल्याउदा राप्रपाका हिमला गुरुङले २१ हजार ९ सय मत ल्याउनुभएको छ । महानगरमा अब ३८ हजार हाराहारीको मत गणना हुन बाँकी छ ।