नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौति दिनुभएको छ ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौति दिनुभएको हो ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिदैँन भन्नेकुरा बुझे पनि सबै मिलेर एमालेसँग लड्न सकिदैन भन्ने कुरा चाहीँ नबुझेको टिप्पणी गर्नुभयो ।
उहाँले प्रधानमन्त्री देउवाले दर्ता भएका सबै दलहरूलाई साथमै लिएर गए पनि एमालेलाई फरक नपर्ने बताउनुभयो । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको मोर्चा झारपातहरुको मोर्चा भएको टिप्पणी गर्दै हलोमा लाग्ने लुँडीको संज्ञा दिनुभयो ।
अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सुधार्न नसकेको बताउनुभयो । माओवादीलाई पखालेर बागमती नै मैलिएको उहाँले टिप्पणी गर्नुभयो । युवाहरूले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उहाँले बताउनुभयो ।