भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले परिणाम देखिने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचलमा भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुतिमा उहाँले विगतका आयोगले गरेका कामलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्ने योजना बनाएर काम गर्न सुझाव दिनुभयो ।
संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अब ढिलाइ गर्न हुँदैन भन्दै मन्त्री श्रेष्ठले प्रभावकारी कामका लागि योजना र कार्यविधि बनाउन सल्लाह दिनुभयो ।
उहाँले भन्नुभयो, “आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अब अन्त्य हुनुपर्छ, अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ, नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भइसक्यो, भूमिहीन किसानका समस्या छिटोभन्दा छिटो समाधान गरेर अधिकार सम्पन्न गराउनुपर्छ ।”